मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सबैभन्दा ठूलो घरेलु संकटको सामना गरिरहेका छन् । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको बिगुल फुकेका छन् ।
येभगेनीले आफू २५ हजार सैनिक लिएर रुस प्रवेश गरेको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर प्रमुखको सशस्त्र विद्रोहले दक्षिणी रुसको प्रमुख सहरमा नागरिक र सैन्य निकायलाई अवरुद्ध गरेको बताए।
- येभगेनी प्रिगोजिनले सैन्य नेतृत्वलाई पराजित गर्ने अप्रत्याशित प्रयास स्वरुप शनिबार मस्कोतर्फ सशस्त्र समुह पठाएको देखिन्छ। रुसी अधिकारीहरूले युक्रेनको दक्षिणी भागलाई मस्कोसँग जोड्ने मुख्य सडकमा सैन्य समुह रहेको र त्यहाँका बासिन्दाहरूलाई यसबाट बच्न चेतावनी दिएका छन्।
- टेलिग्राममा पोस्ट गरिएको भिडियोमार्फत प्रिगोजिनले घोषणा गरेका छन कि, उनी दक्षिणी रूसको रोस्तोभ अन डनमा रहेको सेनाको मुख्यालय भित्र थिए र उनका लडाकुहरूले शहरमा सैन्य साइटहरू नियन्त्रणमा लिएका थिए। प्रिगोजिनले भनेका छन, उनका सेनाहरू युक्रेनी मोर्चाबाट रूसमा प्रवेश गरिसकेका छन् र उनका हजारौं लडाकुहरू मर्न तयार छन्।
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै निजी सेनाका प्रमुखले विद्रोहको घोषणा गरेको र देशको प्रमुख सहरमा प्रवेश गरेको स्विकार गरेका छन् । सो क्रममा पुटिनले निजी सेनाका प्रमुखद्वारा सशस्त्र विद्रोहको घोषणालाई ‘देशद्रोह’ भनेका छन् । साथै, उनीहरुलाई परास्त गरेर जनता र रुसको सुरक्षा गर्ने वाचा गरेका छन्।
- देशलाई सम्बोधन गर्दै पुटिनले भने, ‘भाइलाई भाइको विरुद्धमा खडा गरिएको छ। वाग्नरले रसियाका जनतालाई धोका दिएका छन्। उसले हामीलाई पछाडिवाट छुरा प्रहार गरेको छ। वाग्नरले रुसी सेनालाई चुनौती दिएका छन । हामीले सेनालाई जवाफी कारबाहीका लागि निर्देशन दिईसकेका छौं । आतंकवादीहरूलाई कडा सजाय दिनेछौं, अनाबश्यक विद्रोह गरेको छ ।’
- मस्कोका मेयरका अनुसार आतंकवाद विरोधी गतिविधि सुरु गर्ने घोषणा गरेका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भने, ‘मस्कोमा आएको सूचनाको सम्बन्धमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले आतंकवाद विरोधी कदम चालिएको छ।'
- अर्कोतर्फ दक्षिणी रुसको रोस्तोभ र लिपेत्स्कमा पनि सुरक्षा बढाइएको छ। रोस्तोभमा अधिकारीहरूले सबै बासिन्दाहरूलाई आफ्नो घर नछोड्न आग्रह गरेका छन्।
- रक्षा मन्त्रालयसँग एक महिना लामो विवादमा फसेका वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले मस्कोले आफनो समुह माथी घातक मिसाइल आक्रमण गरेको र सो आक्रामण आफ्नो सेनालाई लक्षित गरेको आरोप लगाए र उनले बदला लिने वाचा गरेको समेत जनाएका छन् ।
- येभगेनी प्रिगोजिनले देशको सैन्य नेतृत्वलाई पराजित गर्न सबै आवश्यक कदम चाल्ने वाचा गरेका छन । र, आफ्नो सेनाले आफ्नो बाटोमा आउने सबै अवरोधहरूलाई नाश गर्नेसमेत बताए।
- प्रिगोजिनले भने, ‘हामी अगाडि बढिरहेका छौं र हामी अन्त्यमा जानेछौं।’ उनले रूसीहरूलाई आफ्नो सेनामा सामेल हुन आग्रह गरे। मस्कोको सैन्य नेतृत्वलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।