पेरिस । फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती बालिकाको आइतबार गोली हानी हत्या भएको छ ।
सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैँचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो । आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् । उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् ।
उनको परिवार बगैँचामा बसेको समयमा ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न त्यहाँ पुगेको बताइएको छ ।
घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमाबाबुलाई गम्भीर चोट लागेको थियो । घटनाको एक घण्टापछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
प्लोनेभेज–डु–फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैँचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो ।