काठमाडौं । सांसद राजीव गुरुङ (दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो ।
फिल्ममा ‘लाखे’ फेम्ड निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । सम्राट नेपाली फिल्म क्षेत्रका द्वन्द्व निर्देशकका रुपमा परिचित छन् । निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो [email protected] तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । उनले यो समयसीमा असार ७ गतेसम्म रहेको बताए ।
निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।
यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्य हुनेछ । फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।
फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । फिल्ममा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् ।