नयाँदिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै भारतीय जनता पार्टी (भाजपा) ले जनतासँग गरेका वाचा पूरा गरेको बताएका छन् । जनतासँग गरेका वाचा पूरा गरेको र देशको विकासमा उल्लेख्य भूमिका निर्बाह गरेकोले नै आज सम्पूर्ण विश्वले भारतलाई उत्साहपूर्वक हेरिरहेको बताएका हुन् ।
रक्षामन्त्री सिंहले बिहारको रोहतासस्थित गोपाल नारायण सिंह विश्वविद्यालयमा बुद्धिजीवीहरूसँग कुराकानी गर्दै भने ‘भाजपाले वाचा पूरा गरेको छ, हामीले धारा ३७० खारेज ग¥्यौँ । भव्य राम मन्दिर निर्माण भइरहेको छ । हाम्रो राजनीति सरकार बनाउनका लागि मात्र नभई समाज बदल्ने महान् अभियान्का लागि हो ।’
उनले थपे, ‘देशका करिब १२ करोड घरमा धारामार्फत पानी पुगेको छ । सन् २०१४ मा करिब १८ हजार गाउँमा बिजुली पुगेको थिएन । आज हरेक घरमा बिजुली पुगेको छ ।’ उनले भारतको आर्थिक वृद्धि दर असाधारण रहेको र यो निकै तीव्र गतिमा अघि बढिरहेको बताए । उनले भने, ‘अहिले भारतको आर्थिक वृद्धि दर असाधारण छ । आज भारत निकै तीव्र गतिमा अघि बढिरहेको छ । भारत विश्वका शीर्ष ५ अर्थतन्त्रमा सामेल भएको छ । मोर्गन स्टेनलीले सन् २०२७ सम्ममा भारत विश्वका शीर्ष तीन अर्थतन्त्रमा गनिने बताउनुभएको छ ।’
भाजपाको तर्फबाट प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको नेतृत्वले देशको रक्षा (हतियार) उत्पादन गरेको बताउँदै उनले यो एक लाख करोड नाघेको र निर्यात १६ हजार करोड भारुको रेकर्ड स्तरमा पुगेको बताए ।