काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन् । च्यासल मैदानमा आज भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरी पछि संकटाले ३२ अंक बनाएको छ भने एनआरटीको ३४ अंक रहेको छ ।
त्यस्तै, तीन पटकको च्याम्पियन थ्रीस्टार रेलिगेशनबाट जोगिएको छ । लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले रेलिगेशन संकट टार्दै सिजनको अन्त्य गरेको हाे ।
थ्रीस्टार आजको खेलमा बराबरीमा मात्रै रोकिदा पनि रेलिगेशनमा पर्ने थियो । थ्रीस्टार ए डिभिजन लिगमै रोकिँदा विभागीय क्लब एपीएफ भने रेलिगेशनमा परेको छ ।
त्यसैगरी, गत संस्करण उपाधि जितेको मछिन्द्र दोस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ । आज भएको २६ औं चरणको खेलमा मछिन्द्रले मनाङ मस्र्याङदी फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिता टुंग्याएको हो ।
मछिन्द्र ४५ अंकका साथ दोस्रो स्थानमा रहँदा मनाङ ३२ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । तर अन्तिम खेलपछि तालिकामा स्थान तलमाथि हुन सक्ने छ ।