काठमाडौं– वैकल्पिक खेलाडी सुनिलको गोलको सहयोगमा शनिबार थ्री स्टार क्लब विभागीय टोली एपिएफ क्लवसँग हारबाट जोगिएको छ।
सहिद स्मारक ए डिभजिन लिग अन्तर्गत २४ औं चरणको खेलमा थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दा एपिएफसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्री स्टार र विभागीय टोली एपिएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्। पहिलो हाफमा पछि परेको थ्री स्टारका लागि सुनिल तामाङले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए।
यसअघि एपीएफका मणिकुमार लामाले टोलीका लागि शुरुवाती अग्रता निकालेका थिए। खेलको २३औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ८६ औं मिनेटमा वैकल्पिक खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाएका थिए।
यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ। एपीएफले २४ खेलमा ३० अंक जोडेको छ। यस्तै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले स्तब्ध भएको छ।
सातदोबाटोको जितमा शिव सुवेदी र दीपकराज सिंह ठकुरीले एक एक गोल गर्दा आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउँदै अन्तर घटाएका थिए। खेलको दोस्रो मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाएका थिए।
सुरुवाती गोलसँगै दबाबमा परेको आर्मीले २९ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। नवयुगले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। नवयुगले प्रहार गरेको पेनाल्टी सातदोबाटोका गोलकिपर अविशेक बरालले रोकेका थिए।
तर, रिबाउन्डमा नवयुगले नै गोल गरेका थिए। त्यसपछि खेलको ६३ औं मिनेटमा दिपकले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित निश्चित गरेका हुन्। यससँगै सातदोबाटोको यो नवौं जित निकाल्न सफल रह्यो। जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ। आर्मीले २४ खेलमा ३० अंक जोडेको छ।
लिगमा आइतबार चार खेल हुनेछन्। दिनको पहिलो खेल संकटा क्लब र खुमलटार युथ क्लबबीच एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा, तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच हुनेछ। यस्तै अन्तिम खेल दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ।