काठमाडौं । फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै छ । यो फिल्ममा सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा उनकै लेखन छ ।
सन्तोषका अनुसार उनले यो फिल्म कान्तिपुर दैनिकमा आएको एक समवेदना विज्ञापन पढेपछि कथा तयार पारेका थिए । त्यसबेला उनी काठमाडौंमा फिल्म ‘बालै फरर’को प्रि-प्रोडक्सनमा व्यस्त थिए ।
उनका अनुसार कान्तिपुरमा एक ४० वर्षे उद्योगपति र समाजसेवीको समवेदना छापिएको थियो । त्यो विज्ञापनले उनलाई यसरी ‘क्लिक’ गर्याे कि उनले एक महिनासम्म उनले त्यो कुरालाई दिमागमा राखे । ‘समवेदना नदेखेको भए फिल्म बन्दैन थियो । ती उद्योगी र समाजसेवीको निधनपछि परिवारमा के भएको होला, परिवारको अवस्था कस्तो छ । यस्तै घटना अन्य परिवार तथा व्यक्तिमा कति परेको होला भन्ने विषयले मलाई छोइरहयो, अनि कथा लेखें’, सन्तोष भन्छन् ।
समवेदनाको कुरा उनले निर्देशक परिच्छेद सेन, निर्माता रविन्द्रसिंह बानियाँ, निर्माता प्रचण्डमान श्रेष्ठलाई सुनाए । सबैबाट फिल्म बनाउनका लागि प्रोत्साहन पाइरहँदा प्री–प्रोडक्सनमा रहेको फिल्म ‘बालै फरर’को काम रोकियो । फिल्मको काम रोकिएपछि सन्तोष पोखरा आए ।
सन्तोषले एक महिनासम्म कथा लेखेनन्, उनले त्यो कथा सम्झिएर हिँडिरहे । उनले त्यसलाई कतै टिपेनन् । उनी पोखरा आएपछि मात्र ड्राफ्ट तयार पार्न लागे । उनलाई फिल्मको पहिलो र दोस्रो ड्राफ्ट ३ महिनामा र फाइनल ड्राफ्ट ५ महिनाको समय लाग्यो ।
‘पोखरा आएपछि मैले शम्भु थापालाई फिल्मको पहिलो ड्राफट सुनाएँ । त्यसपछि नेत्र गुरुङ, शम्भु थापा र म बस्यौं । सातौं ड्राफ्ट बनाएपछि नीर शाह र तेज गिरीलाई दियौं । उहाँहरुले पनि राम्रो सुझाव दिनु भएपछि हामी फिल्म बनाउने निष्कर्षमा पुग्यौं’, सन्तोष सम्झन्छन् ।
सन्तोष फिल्मका केही दृश्य समाजका वास्तविक दृश्य रहेको दाबी गर्छन् । ‘श्रीमान विदेश गएपछि श्रीमतिले भोग्ने पीडा हामीले समाजमा फरक रुपमा देखेका छौं । त्यही फरकपनको केही पाटो यो फिल्ममा छ’सन्तोष भन्छन् ।
उनको बुझाईमा फिल्मले पढेलेखेका व्यक्तिहरुले नै समाजलाई बुझ्न नसकेको कथालाई पनि छोएको छ । ‘उनीहरुले समाजलाई अत्यन्त सतही र समाजको आर्थिक व्यवस्थालाई पनि निरिक्षण गर्छन् । श्रमिकहरुले पैसाको महत्वलाई बुझ्दैनन् । यी कुरालाई पनि फिल्ममा उठान गरिएको छ’, सन्तोषको बुझाइ छ ।
फिल्ममा सन्तोषले नै अभिनय गरेका छन् । उनले स्क्रिप्ट लेखिरहँदा त्यो चरित्रमा आफूले नै अभिनय गर्छु भन्ने सोचेका थिएनन् । अवस्था त्यस्तै बन्यो । उनले आफूले चिनेको एक कलाकारलाई पनि प्रस्ताव नगरेका होइनन् । तर फिल्मकै सदस्यहरुले सन्तोषलाई नै हौसला दिएपछि उनी पछि परेनन् । सन्तोषले २०५२ सालमा हाल दिवंगत निर्देशक प्रताप सुब्बाबाट अभिनय सिकेका थिए ।
शम्भु थापा निर्देशित फिल्ममा प्रमिला खनाल, तेज गिरी, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।