कास्की - अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा अन्नपूर्ण म्याराथन हुने भएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा म्याराथनसहित महोत्सव हुन लागेको हो ।
महोत्सव जेठ १७ देखि २० गतेसम्म हुने संयोजक ललित गुरुङले जानकारी दिए ।
महोत्सवको अन्तिम दिन २० गते (जुन ३) अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२ दशमलव १९५ किलोमिटर) को म्याराथन आयोजना हुने संयोजक गुरुङले बताए । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाइन्छ ।
‘दिवस मनाउन म्याराथन आयोजना गरेका छौं,’ अध्यक्ष गुरुङले भने । म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको संकटमोचन गर्ने उनको भनाइ छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
कोभिड–१९ का कारण २ संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो । प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि यसपटक कार्यक्रमलाई निरन्तरता दिइने समितिका घान्द्रुक होटल व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।