दाङ । दाङको घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दा पढ्दै भागेर बिहे गरिन् । घर परिवारलाई खबरै नगरी बिहे गर्दा घर परिवारले सोधिखोजी गरे । बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो । उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो ? परिवारको जिम्मेवारी के हुन्छ ? परिवार योजना कसरी बनाउने केही थाहा नहुँदा नहुँदै आमा बनेपछि सबै जिम्मेवारी थपिएको छ ।
पढ्ने लेख्ने कलिलो उमेरमा सुष्माले बिहे गरेर छोरी जन्माएपछि दैनिकी फेरिएको छ । उमेर सानो भएकाले सर्जिरी गरेर बच्चा निकाल्नु परेको थियो । काखमा कच्चा हुर्किरहँदा उनलाई जीवन बुझ्ने अवसर मिलेको छ । मनमा पछुतो बढ्दै गएको छ । आफूसँगका साथी हातमा किताब बोकी उच्च शिक्षा पढ्नका लागि सहर पसेका छन् ।
उनको काखमा बच्चा र उसैको स्याहारमा दिन बितेको छ । घोराही–१ की बिपना थापा १६ वर्षको उमेरमै भागेर विवाह गरिन् । नौ कक्षा पढ्दै गरेकी विन्दु विवाह गरेको केही महिनामै गर्भवती भइन् । एउटै विद्यालयमा अध्ययनरत उनका श्रीमान् २० वर्षमा मात्रै थिए । सानो उमेरमा विवाह गरेकी विन्दुका अहिले दुई सन्तान छन् ।
आर्थिक अभावका कारण श्रीमान् रोजगारीको सिलसिलामा देश बाहिर छनन् । कलिलै उमेरमा विवाह गरेकी बिन्दुका सन्तान हुर्किदै गए पनि प्रजनन् स्वास्थ्यमा असर गरेको छ । बेलाबेला तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको छ । अहिले उनलाई भारी काम गर्न मिल्दैन । पढ्ने, साथीसँग रमाउने उमेरमा व्यवहारले च्यापेकोले बिहे गरेकोमा पछुतो लागेको छ ।
तुलसीपुर–५ की सरिता भण्डारीको अवस्था पनि उस्तै छ । १७ वर्षको उमेरमा विवाह गरेकी सविताका अहिले दुई सन्तान छन् । २१ वर्षमा लागेकी सरिताले दुई छोराछोरी जन्माइसकेकी सकेकी छन् । श्रीमान् रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । कलिलै उमेरमा विवाह गरेकी कविताका सन्तान हुर्किदै गए पनि प्रजनन स्वास्थ्यमा असर गरेको छ ।
अहिले उनलाई स्वास्थ्यमा असर गरेकाले भारी काम गर्न मिल्दैन । यौन तथा प्रजनन स्वास्थ्यमा असर गरेकाले डाक्टरले भारी काम गर्न मिल्दैन भनेपछि अहिले उनलाई समस्या भएको छ । समाजमा उमेर नपुग्दै अभिभावकको मन्जुरी बिना भागेर विवाह गर्ने क्रम पछिल्लो समय बढेको छ । पहिले पहिले अभिभावकले नै उमेर नपुग्दै छोराछोरीको विवाह गर्ने चलन थियो । अहिले यो क्रम घटे पनि किशोर उमेरमा आफू खुसी विवाह गर्ने क्रम रोक्न चुनौती रहेको छ ।
दाङका स्थानीय तह र सरोकार निकायले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउँदै छन् । घोराही उपमहानगरपालिकाले १९ वटै वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको उपप्रमुख हुमा डिसीले बताइन् । सरकारले ‘बिहेबारी बीस वर्ष पारी’ नारालाई सबै ठाउँमा पुर्याएका छौँ, तर, व्यवहारिक कार्यान्वयनमा समस्या देखिएको छ । कतिपय विहे गरेर आमा बन्ने गरेका छन् भने कतिपय असुरक्षित यौन सम्बन्धका कारण कलिलै उमेरमा गर्भवती हुने गरेका छन् ।
नेपालको मुलुकी देवानीसंहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ । तर, व्यवहारमा लागू छैन । कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस) को तथ्याङ्कअनुसार गएको पाँच वर्षमा कम उमेरमा सन्तान जन्माउने किशोरीको संख्या ३ प्रतिशत मात्रै घटेको छ । २० वर्ष उमेर नपुगी गरिने विवाहलाई कानुनीरूपमा अपराध मानिएको छ । तर बालविवाह समाजमा अझै रोकिन सकेको छैन ।
दाङमा पनि बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह भित्रभित्रै हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा अगाडि सारेर काम गरेको बताइन् । स्मार्ट छोरी कार्यक्रमअन्तर्गत छोरी जन्मेपछि खाता खोलेर पैसा राखिदिने र छोरी २० वर्ष भएपछि मात्रै निकाल्न सकिने कार्यक्रम ल्याएर छोरीहरुलाई विद्यालय उमेर पूरा गरेपछि मात्रै विवाह गर्नुपर्ने कुरा सिकाउने गरेको बताइन् । ‘पालिकाको १९ वटै वडाका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भनिन् ।
स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कमा के छ ?
स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कअनुसार साढे तीन वर्षको अवधिमा २० वर्ष मुनि १७ हजार बढीले गर्भ जाँच गराएका छन् । यो तथ्याङ्कले पनि बीस वर्ष नपुग्दै विवाह गर्ने र आमा बन्ने संख्या धेरै रहेको छ । दाङमा सूचीकृत स्वास्थ्य संस्थाको तथ्याङ्कले १७ हजार पाँच सय १३ जनाले गर्भ जाँच गराएको देखाएको हो । अन्य निजी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने संख्या पनि उत्तिकै हुनसक्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा पनि एक सय बढी किशोरीले गर्भ जाँच गराएको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बरबहादुर कुँवरका अनुसार अधिकांश किशोरी सानै उमेरमा विवाह गर्ने गरेका छन् । स्थानीय पालिकाले बालविवाह न्यूनीकरणको लागि धेरै कार्यक्रम ल्याए पनि प्रभावकारी नभएको उनको भनाइ छ ।