काठमाडौं । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका पदाधिकारीहरुले मन्त्री, सांसद तथा सम्बन्धित निकायहरूसँगको भेटघाटलाई तिव्र बनाएका छन् ।
सार्वजनिक शिक्षाको गुणस्तरीयता माथि प्रश्न उठिरहेको बेला महासंघले नेताहरूलाई भेटि वास्तविक अविभावकका आवाज सुन्न र नीतिगत सुधार गर्न सुझाव दिएका हुन् ।
शिक्षाक्षेत्रलाई व्यवस्थित गर्न नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको सरकारले विगत केही समय यता छलफल अपुग भएको भन्दै विधेयक रोकेको थियो । सुचना प्रविधिको क्षेत्रमा ठूलै फड्को मारिसकेको अवस्थामा पनि देशमा आधा शताब्दी पुरानो ऐनले वर्तमानको आवश्यकतालाई सम्बोधन गर्न नसकेको महासंघको गुनासो छ । देशको ८० प्रतिशत भन्दा बढी विद्यार्थी अध्ययनरत २८ हजार सामुदायिक विद्यालयमा गुणस्तर सुधार नगरी देशको अवस्था नसुध्रिने महासंघको जिकिर छ ।
शिक्षा मन्त्री अशोककुमार राई, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, एमालेका प्रमुख सचेतक पदम गिरी, सांसदहरू दीपा शर्मा, महेन्द्र शाही र शिशिर खनाललाई महासंघले छुट्टाछुट्टै भेटेर ध्यानाकर्षण पत्र बुझाएर आफ्ना मागहरूबारे अवगत गराएको हो । महासंघले १३ बुँदे घोषणापत्र, रणनीति तथा कार्ययोजना सहित सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
‘हामी सुधार्छौं हाम्रो विद्यालय’ भन्ने मुल नारा बोकेर महासंघ अघि बढेको र सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्न शिक्षक, विद्यार्थी, अविभावक, व्यवस्थापन समिति र नियामक निकाय सबैको सहकार्य आवश्यक रहेको तथा महासंघलाई शिक्षा ऐनमा समेट्नुपर्ने महासंघका सचिव मञ्जु नेपाल भण्डारीले बताइन् ।
भेटमा सामुदायिक विद्यालय र निजी शिक्षण संस्थाको कोर्सबुक एउटै हुनुपर्ने, सामाजिक विषय दुवै विद्यालयमा नेपाली भाषामा र विज्ञान विषय अंग्रेजीमा पढाइ हुनुपर्ने लगायतका मागबारे जानकारी गराएको महासंघका महासचिव देवी खड्काले बताइन् । नमुना विद्यालयको सिकाइलाई नीतिमा रुपान्तरण गर्न र शिक्षा प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको उपाध्यक्ष गोविन्द कोइरालाले जानकारी दिइन् । देशमा शिक्षाक्षेत्र अस्तव्यस्त भएको र छिटोभन्दा छिटो सुधारको पहल गर्नुपर्ने उपाध्यक्ष प्रेम भाटले जनाइन् । माध्यमिक तहसम्मको जिम्मेवारी स्थानीय तहलाई भएको र स्थानीय सरकारले राजनीतिक आस्था भन्दा माथि उठेर जिम्मेवारी पूरा गर्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवालले ध्यानाकर्षण गराए । २०७० साल स्थापना भएको महासंघले स्थापनाकाल देखि नै निरन्तर शिक्षा सुधारका लागि आवाज उठाउँदै आएको संस्थापक अध्यक्ष कृष्ण थापाले बताए ।
हालै सम्पन्न विद्यालय व्यवस्थापन समितिहरुको राष्ट्रिय सम्मेलनले दिएको रोडम्यापका आधारमा महासंघ अघि बढेको र सम्बन्धित सरोकारवालाहरुलाई भेट गरि आफ्ना मागहरू बारे जानकारी गराएको महासंघका अध्यक्ष गुणराज मुक्तानले बताए ।