काठमाडौँ । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ। यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ।
हुन पनि प्रायः नेपाली यी देशमा कामकै सिलसिलामा त्यहाँ पुग्ने गरेका छन्। खाडी मुलुक भएकाले कडा नियमसँगै तडकभडकबिनाको जीवनशैली भन्ने पहिचान त छँदै छ। त्यसैले पनि यी देशमा मोडलिङको काम या व्यवसाय के होला भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो।
तर कामकै सिलसिलामा यूएई पुगेर पनि आफ्नो अर्कै पहिचान बनाएको नेपाली नाम हो- चाँदनी। कामका लागि त्यहाँ पुगेर पनि आफ्नो रुचिअनुसारकै काम गर्न र त्यसलाई व्यवसायमा ल्याउन उनी सफल भएकी छन्। बाल्यकालदेखि नै चलचित्रकी सौखिन चाँदनी पाठक दुबईकी यस्तै एक व्यावसायिक मोडल हुन्। अहिले उनले आफ्नो पहिचान नेपाली गन्तव्य मुलुककी एक सफल मोडलका रूपमा स्थापित गरिसकेकी छन्।
सन् २००९ मा आयोजना भएको ‘मिस नेपाल’ मा सहभागी भएपछि उनको मोडलिङको यात्रा सुरु भएको हो। अन्तिम पन्ध्रसम्मको यात्रा तय गरेपछि पाठक बाहिरिइन्। त्यसपछि उनले म्युजिक भिडिओमा अभिनय, नृत्य निर्देशनलाई निरन्तरता दिइन्। त्यसरी सुरु भएको उनको सोख अहिले व्यवसायमा परिणत भएको छ। अहिले यूएईकी एक सफल मोडलका रूपमा उनी यहाँका नेपालीमाझ परिचित छिन्।
‘मैले अभिनयसँगै नृत्य निर्देशनलाई पनि अगाडि बढाएँ। चार वर्षसम मोडलिङसँगै जोडिएको विधामा सक्रिय रहँदा नै कामकै सिलसिलामा दुबई पुगेकी हुँ’, मोडल पाठकले भनिन्, ‘एक वर्षका लागि तय भएको गन्तव्य अहिले कर्मथलो बनेको छ। आफ्नै व्यापार छ। मोडलिङ पनि गरिरहेकी छु।’
दुबई पुगेर उनले सातको हाराहारीमा भिडिओमा काम गरिसकेकी छन्। प्रायः नेपाली समाजले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उनको सहभागिता हुन्छ। यहाँको स्थानीय भाषामा बन्ने भिडिओमा अभिनय गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिइन्।
‘म दुबई पुगेपछि आफ्नै काममा केन्द्रित थिएँ तर आफ्नो इच्छालाई धेरै समय दबाउन सकिनँ। मेरो तस्बिर देखेर नै मलाई स्थानीय मोडलिङ एजेन्सीले अफर गर्नुभएको हो’, मोडल पाठकले भनिन्। र्याम्प शोका लागि खिचाएका तस्बिरले केही कार्यक्रममा सहभागी हुने मौका प्राप्त भएपछि उनी नेपाली समाजको प्रतिनिधिसमेत बनिन्।
बाहिर चर्चा हुने गरेजस्तो अप्ठ्यारो र असहज अवस्था दुबईमा नभए पनि यूएईका अन्य सहरमा भने कानुन कडा रहेको उनले बताइन्। भूगोलको प्रभाव नगरी निरन्तर सक्रिय मोडल पाठकले नेपालभन्दा यूएईमा अवसर बढी भएको बताइन्।
मोडल पाठकले भनिन्, ‘आफ्नो काम र मोडलिङलाई सँगै अगाडि बढाइरहेकी छु। हाम्रो मेहनत र प्रयासले नै सफलता दिलाउँछ भन्ने उदाहरण म आफैँ हुँ। मैले दुबईमा गरिरहेको कामले अन्यलाई समेत प्रोत्साहन मिलेको छ। हामीमा प्रतिभा छ भने हाम्रो लागि मनग्य अवसर छ।’
म्युजिक भिडिओ निर्देशनको तयारीमा रहेकी मोडल पाठकलाई चलचित्रमा अभिनय गर्ने रहर छ। यद्यपि त्यसका लागि उनी सिकाइका लागि समेत तयार छिन्। बाल्यकालमा अभिनेता राजेश हमाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र जल शाहको अभिनयबाट प्रभावित मोडल पाठकले अवसर पाए सदुपयोग गर्ने योजना सुनाइन्।
यतिखेर भने उनी इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीसँग मोडलिङमै साक्षात्कार गर्न काठमाडौँ आएकी हुन्। सङ्घर्षको समयमा साझा मञ्च नहुँदा भोग्ने परिस्थितिसँग अभ्यस्त भएकाले पनि विश्वभर रहेका नेपालीलाई एउटै शोमा देख्दा खुसी लागेको मोडल पाठकले बताइन्।
उनले भनिन्, ‘यस किसिमको कार्यक्रमले विदेशमै हुर्किएका पुस्तालाई नेपाली संस्कृतिसँग सामीप्यता बढाउँछ। यसको प्रतिस्पर्धा नेपालमै हुनु झनै राम्रो हो।’ विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायन र नृत्यका प्रतियोगीले यतिखेर काठमाडौँमा आफ्नो प्रस्तुति दिइरहेका छन्।
नेपाल टेलिभिजनमा बुधबार र बिहीबार राति ‘मेरो भ्वाइस युनिभर्स’ र नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार ‘मेरो डान्स युनिभर्स’ को प्रसारण यसै साता सुरु भएको छ। सो प्रतियोगिताका विजेतालाई नेपालमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कारको व्यवस्था छ। यी दुवै शोमा प्रथम हुनेले रु एक करोड, द्वितीयले रु ३० लाख र तृतीयले रु २० लाख प्राप्त गर्नेछन्।