यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ् । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ फुटबल टोलीको सहभागिता रहने खेल संयोजक शम्भु प्रधानले जानकारी दिए ।
जिल्लाका सात स्थानीय तहको सहयोग तथा जगशक्ति स्टिलको मुख्य प्रायोजनमा खेल सम्पन्न गर्नका लागि रु ४१ लाख ५० हजार बराबरको आयोजकले खर्च सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद पाँच लाखसहित रनिङ शिल्ड र उपविजेताले नगद दुई लाख ५० नगद पाउने प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए।
विसं २०३२ मा विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा भीमनारायण श्रेष्ठको विसं २०३५ मा गोली हानी हत्या गरिएको थियो । उनकै सम्झना र सम्मानमा विसं २०५५ देखि फुटबल प्रतियोगिता हुँदै आएको हो । यो प्रतियोगिता जिल्लाकै ठूलो धनराशि पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।