काठमाडौं । आज देखी लागु हुने गरी सातदिने युद्धविराम गर्न सुडानमा युद्धरत पक्ष सहमत भएका छन् ।
सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्टं फोर्सेस (एसएएफ) प्रमुख आज देखी बैशाख २८ गतेसम्म युद्धविराम गर्न सहमत भएका हुन ।
दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार राष्ट्रपति साल्भा किर मेयारदिटले बिद्रोही पक्षसँग सम्पर्क गरी युद्धबिराम गरी बार्तामा आउन आब्हान गरे पछि दुबै पक्ष युद्धबिराम गर्न सहमत भएका हुन । बिदेश मन्त्रालयका अनुसार दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन पनि सहमत भएका छन् ।
दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसका निम्ति वार्ता अपरिहार्य भएको जनाउँदै आएका थिए । दुवै पक्षको अनौपचारिक छलफल पछि वार्ताको मिति र स्थल तय गरिनेछ ।
दुबै नेता बिच भएको टेलिफोन बार्ता पछि शीघ्र वार्ता टोली गठन गरिने र जारी युद्धलाई स्थगित गरी राजनीतिक निकास खोज्न दुवै सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन ।
व्यापार र विकासका लागि अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आइजीएडी) का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजीएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजीएडीले युद्धविरामको पहल गरेको हो ।
सत्ता संघर्षका लागि अचानक भडकिएको हिंसामा परी तीनसय भन्दा बढीको ज्यान गएको थियो । दुबै पक्षले युद्धका लागि एक अर्कालाई दोष देखाउँदै युद्धको कारण आफु नभएको भन्दै पन्छिदै आएका छन ।