काठमाडाैँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साकाे वीरगञ्ज महानगरपालिका-१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित सोही महानगरपालिका-१६ बस्ने २५ वर्षीय बब्लु पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरेको हो । उनी उपर लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ तिल्के तालबाट अवैध लागुऔषध ब्राउनसुगर ९ ग्राम ७ सय ४० मिलिग्रामसहित कंचनपुर शुक्लाफाँटा नगरपालिका-५ बस्ने ४९ वर्षीय जयराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका-८ बुद्धचोक बस्ने २० वर्षीय उमेश घलेलाई अवैध लागुऔषध ब्राउनसुगर १ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
दाङकाे दगीशरण गाउँपालिका-३ हेकुलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय श्रृखल पौडेललाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-८ झिलमिलियाबाट अवैध लागूऔषध गाँजा २० केजी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले झोला फाली फरार भए पश्चात प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।