काठमाडौं। नेपालमा भइरहेको एसिसी प्रिमियर कपमा साउदी अरेवियासँग कतार पराजित भएको छ। कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा साउदी अरेवियाले कतारलाई ७ विकेटले पराजित गरेको हो।
साउदीले पहिलो जितका साथ सेमिफाइनल पुग्न सक्ने समीकरण कायमै राखेको छ। जितको लागि २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४ दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले ४९ दशमलब ५ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो।
साउदी अरेवियाको लागि अब्दुल वहिदले १ सय ८ बलमा २१ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेले। कतारका इक्रमाउल्लाह खानले दुई विकेट लिए।
कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन। ओपनर कमरान खान ३६ रनमा आउट भए। साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९ दशमलब ५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिए।