काठमाडौं। भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल गरेसँगै शनिबार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा सहिद स्मारक ए डिभिजन लिगकै अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि समान २–१ गोल अन्तरले पराजित गरेको छ।
११ औं चरणको खेल अन्तर्गत च्यासल मैदानमा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रलाई जित दिलाउन चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले समान एक गोल गरे। फ्रेण्ड्सका लागि रफिक अमिनुले १ गोल फर्काए। निकै अपेक्षा गरिएर मच्छिन्द्रमा अनुबन्ध गरिएका चेन्चोले आफ्नौ छैठौं खेलमा गोल गर्न सफल भएका हुन्।
चेन्चोले ४५औं मिनेटमा मच्छिन्द्रका लागि अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि मच्छिन्द्रले फ्रेण्ड्सलाई दबाब दिएर खेल्यो। ६३औं मिनेटमा देवेन्द्रले टोलीको अग्रता दोब्बर बनाएका थिए। देवेन्द्रले चेन्चोको प्रहारमा फेन्ड्सका खेलाडीलाई लाग्दै आएको रिबाउन्ड बललाई जारी चुमाउन सफल भएका थिए।
२–० ले पछि परेपछि खेलमा फर्किन निकै प्रयास गरेको फ्रेण्ड्सका लागि ७६ औं मिनेटमा अमिनुले गोल गर्दै अन्तर घटाए। बाँकी समयमा थप प्रयास गरे पनि फ्रेण्ड्स सफल हुन सकेन र अंक सुम्पियो।
यस जितसँगै मच्छिन्द्रले जारी लिगमा चौथो जित निकालेको छ। मछिन्द्रले ११ खेलमा १६ अंक जोड्दा छैटौं स्थानमा रहेको छ। फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ। फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ।
लिग अन्तर्गत दशरथ रंगशालामा भएको खेलमा मुख्य प्रशिक्षक बिना खेलेको खुमलटारले सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङमाथि २–१ को रोमाञ्चक जित निकाल्यो। यससँगै मनाङले लगातार चार खेलमा नतिजा सुम्पिएको छ। खुमलटारलाई जित दिलाउन दुवै गोल मेसोके ओलुमोउले पहिलो हाफमा र दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए।
यसअघि मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीबाट एक गोल फर्काउँदै खेल बराबरीको अवस्थामा ल्याएको थियो। प्रतिष्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए। पेनाल्टी बक्सभित्र एकल प्रयासमा मनाङका दुई रक्षकलाई बिट गर्दै टोलीको खाता खोलेका थिए।
५३औं मिनेटमा खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। ६१ औं मिनेटमा कुडो पेनाल्टी अवसरलाई खेर फाले। खुमलटारका अविशेक वर्माले रन्दिप पौडेललाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। खेलको अन्तिम तिर काउन्टरको प्रयास गरेको खुमलटारका लागि इन्जुरी समयमा मेसोकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको तिज निश्चित गरे।
जितसँगै खुमलटारले ११ खेलमा ४ जित, १ बराबरी र ६ हारको नतिजासहित १३ अंक जोडेको छ। पराजय व्यहोरेको मनाङको समान खेलबाट ४ जित, ३ बराबरी र ४ हारको नतिजासहित १५ अंक छ। लिगमा आइतबार दुई खेल हुनेछन्। दिनको पहिलो खेल हिमालयन शेर्पा र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा खेल हुनेछ भने दोस्रो दशरथ रंगशालामा संकटा र थ्री स्टारबीच प्रतिष्पर्धा हुनेछ।