काठमाडौं। साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधबार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लबले च्यासल मैदानमा पुलिसलाई ६–१ को फराकिलो अन्तर हराएको हो। मच्छिन्द्र क्लबविरुद्ध रोमाञ्चक जित दिलाउनका लागि पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा कप्तान नविन लामाको पासमा अर्मान्ड बेडोमले गरेको गोल निर्णायक बनेको हो।
यसअघि पहिलो मिनेटबाट दबाब दिएर खेलेको मच्छिन्द्रले थुप्रै अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेन। पाचौं खेलमा चेन्चो पनि चल्न सकेनन् भने स्ट्राइकर विमल घर्ती मगरका थुप्रै प्रयास विफल भएका थिए। यस्तै आन्द्रेश नियाले पनि केही राम्रा अवसर खेर फाल्न पुगेका थिए।
२८ औं मिनेटमा मच्छिन्द्रका चेन्चो ग्याल्सेनको क्रसमा विमल घर्ती मगरको प्रहार आकाशिँदा त्यसको तीन मिनेटपछि चेन्चोको शक्तिशाली प्रहार फ्रेममा पर्न सकेन। दुई मिनेटपछि मच्छिन्द्रले फेरि गोलको अवसर गुमायो। चेन्चोको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका आन्द्रेस नियाको प्रहार बाहिरियो।
४४ औं मिनेटमा नियाको क्रसमा विमलले गरेको हेडर बल माथिल्लो बार नजिकैबाट बाहिरिएको थियो। खेलमा एपिएफले पहिलो रोजाइका गोलकिपर युया कुरियामालाई चोटका कारण गुमाउन परेको थियो। मच्छिन्द्रका विजय भुजेलसँग जुध्न पुगेका कुरियामालाई २२ औं मिनेटमा वैकल्पिक गोलकिपर एञ्जल श्रेष्ठले प्रतिस्थापन गरे। दोस्रो हाफमा अगाडि बढेर खेलेको मच्छिन्द्र खेलमा फर्किन सकेन र अंक सुम्पिन बाध्य बन्यो।
लिग अन्तर्गत च्यासल मैदानमा पुलिसविरुद्धको खेलमा जावलाखेलले जित निकाल्ने क्रममा पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा पाँच गोल गर्दै एक गोल खान पुगेको थियो। यससँगै जावलाखेल शीर्ष स्थानमा यथावत रहेको छ।
पहिलो मिनेटबाट नै पुलिसमाथि हावी भएको खेलको जावलाखेलले २९ औं मिनेटमा फोडे फोफनाको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफमा जावलाखेलले पहिलो हाफको खेललाई निरन्तरता दियो। हिसुब थपलियाले ५० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउँदा एनकोटा मासोबीले ६५ औं र ७२ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता ४–० मा पुर्याएका थिए।
यसअघि ६५ औं मिनेटमा अब्दुलाजिज निसोनबाभले टोलीका लाग पाँचौं गोल गरेका थिए। हिसुबले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो थप्दै अग्रता ६–० मा पुर्याउँदा मोसेस ग्याबाह टौमले पुलिसका लागि सान्तोवना गोल फर्काएका थिए। यससँगै जावलाखेल युथ क्लबले १० खेलबाट छैठौं जित निकालेर शीर्ष स्थानमा यथावत छ। जावलाखेलको २० अंक भएको छ पराजित पुलिस तालिकाको पुछारमा यथावत नै छ।
लिगमा बिहीबार दुई खेल हुनेछन्। एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार र हिमायन शेर्पा आमने सामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।