गलेश्वर - कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।
नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउनुहुन्छ । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उहाँको भनाइ छ । चौधरी भन्नुहुन्छ, “चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।”
सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताउनुभयो । पहिलो किस्तामा रु एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो । चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उहाँले बताउनुभयो । चौधरीले भन्नुभयो, “स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।”
१० गतेदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने योजना उहाँहरूको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रको मासिक रिपोर्ट नपठाउनेलगायतका काम रोकेर विरोध गर्ने स्वास्थ्यकर्मी बताउनुहुन्छ । तर उहाँहरूले तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध भएको स्थितिमा आन्दोलनको कार्यक्रम फिर्ता लिने पनि बताएका छन् ।
नगरपालिकाका प्रमुख केवल चौधरीले भने स्वास्थ्यकर्मीको समस्या तत्काल नगरपालिकाले समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले नगरपालिकाको अहिलेको स्थितिले समस्यालाई समाधानको बाटोमा लैजान नसक्ने भन्दै स्वास्थ्यकर्मीको सेवा उपलब्ध गराउने जिम्मा सङ्घीय सरकारको भएको बताउनुभएको छ ।
“कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घ सरकारले नै बेहोर्नुपर्छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “हामीले नियुक्त गरेका कर्मचारीलाई सेवासुविधा रोकेका छैनौँ । उहाँहरूको नियमानुसार काम भइरहेको छ ।” उहाँले नगरपालिकासँग बजेट भए त्यसको दीर्घकालीन नभए पनि अल्पकालीन समाधान गर्न सक्ने भन्दै त्यस्तो स्रोतको पहिचान गरेर समस्या समाधान हुने देखिए त्यसमा काम गर्ने बताउनुभयो ।
केही दिन पहिले जोशीपुर गाउँपालिकामा पनि स्वास्थ्यकर्मी छ महिनादेखि तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए । एक महिनाभन्दा लामो आन्दोलनपछि गाउँपालिकाले एक महिनाको तलबभत्ता उपलब्ध गराएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए ।