भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गाला बन्ने निश्चित भएको बताएकी हुन् ।
प्रमुख दाहालले भनिन्“अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ ।” अहिले पनि धेरै जनामा रङ्गशाला बन्ने हो कि होइन भन्ने प्रश्न उब्जिएको भन्दै उनले धुमुर्स–सुन्तली फाउण्डेशनलाई ऋण तिर्न एक मुष्ट रु १२ करोड अनुदान दिई बाँकी निर्माणकार्य अगाडि बढ्ने बताइन् । निर्माणाधीन उक्त रङ्गशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन् ।