एजेन्सी। जर्मनीले ताइवानसँगको ’शान्तिपूर्ण पुनर्मिलन’लाई समर्थन गर्ने चीनको ’आशा र विश्वास’ रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन्।
चिनियाँ विदेश मन्त्रालयले शनिबार सार्वजनिक गरेको वक्तव्यमा चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीले भने, जर्मनीले ताइवानसँगको ‘शान्तिपूर्ण पुनर्मिलन’लाई समर्थन गर्ने चीनको’आशा र विश्वास’ रहेको छ ।”
चीनमा जर्मन विदेशमन्त्री एनालेना बेयरबोकसँगको भेटमा वाङले चीनले कुनै बेला जर्मनीको पुनर्मिलनलाई समर्थन गरेको चर्चा गर्दै जर्मनीको आफूलाई पनि साथ रहने बताएका हुन्।
“ताइवानी जल क्षेत्रमा स्थिरता कायम राख्न ‘ताइवान को स्वतन्त्रता’ सँग सम्बन्धित पृथकतावादी गतिविधिको दृढतापूर्वक विरोध गर्न आवश्यक छ,” वाङले भने। वाङले ताइवानको ‘चीनमा फिर्ती’ दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको अभिन्न अङ्ग भएको बताएका छन्।
बेयरबोकले ताइवानमाथि नियन्त्रण कायम गर्ने चीनको कुनै पनि प्रयासले युरोपलाई गम्भीर असर पार्ने यसअघि नै बताइसकेका थिए।
“ताइवान स्ट्रेटमा सैन्य गतिविधिको वृद्धिले विश्वव्यापारको ५० प्रतिशत हिस्सा रहेको यस क्षेत्रको घटनाक्रम सम्पूर्ण विश्वका लागि डरलाग्दो परिदृश्य हुनेछ,” बेयरबोकले भने।
फक्स न्यूजका अनुसार बेयरबोकले कुनै पनि सम्भावित सैन्य वृद्धिले युरोपमा स्वार्थका लागि ‘असामान्य असर’ पार्ने बताएका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोँले आइतबार चीनको भ्रमणपछि युरोपलाई ताइवानमा ‘अमेरिकी लय’ नपछ्याउन आग्रह गरेका थिए ।
“हामी ‘ब्लक भर्सेस ब्लक’ अवस्थामा फस्न चाहँदैनौं,” लेस इकोसँगको अन्तर्वार्तामा म्याक्रोँले भने। “युरोपलाई विश्वको अव्यवस्था र सङ्कटको चपेटामा पार्नु हुँदैन जुन हाम्रो होइन ।
यसैबीच ताइवानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जर्मन विदेशमन्त्रीको भनाइलाई उच्च प्रसंशा गरेको फक्स न्यूजले जनाएको छ ।
“विदेश मन्त्रालयले ताइवानप्रति ऐक्यवद्धता जनाएकोमा जर्मनीलगायत विभिन्न देशका कार्यकारी विभागका उच्च पदस्थ अधिकारीलाई धन्यवाद दिएको छ,” विज्ञप्तिमा भनिएको छ ।