काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीए)मा राजस्थान रोयल्सले चौथो जित हात पारेको छ। आइतबार राति भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ३ विकेटले हरायो।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो। १७८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ थालेको राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक ६० रन बनाए। यस्तै, सिम्रोन हेटमायरले ५६ रन बनाए। देवदत्त पाडिक्कलले २६ रन बनाउँदा ध्रुव जुरेल १८ र रविचन्द्रन आस्विन १० रनमा आउट भए।
राजस्थानविरुद्ध गुजरातका मोहम्मद सामीले ३ र राशिद खानले २ विकेट लिए। हार्दिक पाण्ड्याले १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातका लागि डेभिड मिलरले ४६, सुभम गिलले ४५, कप्तान हार्दिक पाण्ड्याले २८ तथा अभिनभ मनहोरले २७ रन जोडे।
गुजरातविरुद्ध राजस्थानका सन्दीप शर्माले २ विकेट लिए। यस्तै, ट्रेन्ट बोल्ट, एडाम जाम्पा तथा युजबिन्द्र चाहलले १–१ विकेट लिए।
५ खेलबाट ८ अंकसहित राजस्थान अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा रहेको लखनउ सुपर जायन्ट्सको ५ खेलबाट ६ अंक छ। गुजरात पनि ५ खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा छ।