काठमाडौं। काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ संकटा क्लबसँग १–० गोल अन्तरले पराजित भएको छ
ललितपुरस्थित च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा एपीएफले नौ खेलाडीमा सीमित भएको संकटाविरुद्ध फाइदा उठाउन सकेन। यससँगै एपीएफ फुटबल क्लबले सहिद स्मारक ‘ए ’डिभिजन लिगमा लगातार दोस्रो हार व्यहोरेको हो।
पहिलो हाफमा संकटाका जुनियर एनकुन्गुएले पेनाल्टीबाट गरेको गोल नै निणार्यक बनेको थियो। सुरुआत प्रतिष्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा एनकुन्गुएले पेनाल्टीमार्फत् गोल गरेका हुन्। एपीएफका विदेशी खेलाडी रक्षक एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। पछि परेको एपीएफले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरेपनि सफल हुन सकेन।
यसअघि १३औं मिनेटमा संकटाका निशान खड्काको फ्रिकिक एपीएफका गोलकिपर युरी कुरियामाले बचाएका थिए। ४४औं मिनेटमा पनि निशानको प्रहारमा गोलकिपर कुरियामा नै बाधक बनेका थिए। ६८औं मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित हुन पुगे। पहेँलो कार्ड व्यहोरिसकेका एपीएफका दीपेश धिमाल र मनिष डाँगीबीच एकआपसमा घम्साघम्सी हुँदा दुवैले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेका थिए।
१० खेलाडीमा झरेको संकटा सात मिनेटपछि नौ खेलाडीमा सीमित बन्यो। रेफ्रीलाई अपशब्द बोलेको भन्दै आन्द्रे थियरी बियिकले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान बाहिरिन पुगेका थिए। अन्त्यतिर नौ खेलाडीमा सीमित भएको संकटाविरुद्ध एपीएफले थप फाइदा उठाउन सकेन र अंक सुम्पिन बाध्य बन्यो।
यस जितसँगै संकटाले नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजासहित १५ अंक जोडेको छ। पराजय ब्यहोरेको एपीएफको समान खेलमा तीन जित, दुई बराबरी र चार हारसहित ११ अंक छ।