म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा आयोजना गरिएको १ लाख नगद पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लब बेनी मंगलाघाटले जितेको छ।
नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा रिभरसाइड युवा क्लबलाई ३ का विरुद्ध ४ गोलले पराजित गर्दै बौद्ध युवा क्लब विजेता बन्न सफल भएको हो।
चैत २८ गतेदेखि ४ दिन संचालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागी भएका थिए।
प्रतियोगितामा प्रथम हुने बौद्ध युवा क्लब १ लाख नगद पुरस्कारसहित ट्रफि,मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको रिभरसाइड युवा क्लबले नगद ५० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र पायो।
गण्डकी प्रदेशका सांसद हरि भण्डारीले उद्घाटन गरेको कार्यक्रमको समापन जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी र बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले गरेका थिए।
कार्यक्रममा उत्कृष्ट खेलाडी रिभरसाइड क्लब बगरफाँटका उर्गिन शेर्पा, उत्कृष्ट टिम नवउत्साही समूह पर्वत, उत्कृष्ट गोलरक्षक रिभर साइडका सरोज तामाङ र सर्वाधिक गोलकर्ता बौद्ध क्लबका देव छन्त्याललाई पुरस्कृत गरिएको थियो।