काठमाडौं। विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लवले मंगलबारबाट सुरु भएको पहिलो संस्करणको पोष्टबहादुर बोगटी स्मृति कम राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा पुलिसले एपिएफपमाथि सोझो सेटमा जित निकालेको हो। विभागीय डर्बी भिडन्तमा पुलिसले पहिलो सेटमा २५–२१ को सेटमा जित निकालेको थियो।
पहिलो सेटको जितपछि उच्च मनोबलका साथ खेलेको पुलिसले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २६–२४ को रोमाञ्चक निकाल्न सफल भयो।
यस जितसँगै समूह बी को पुलिसले अंक तालिकामा ३ जोडेको छ। यससँगै पुलिसको सेमिफाइनल प्रवेश सम्भावना बलियो पनि भएको छ।
प्रतियोगितामा बुधबार दुई खेल हुनेछन्। दिनको पहिलो खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश तथा दोस्रो खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ।