नयाँ दिल्ली। भारतको दक्षिणी राज्य तामिलनाडुमा धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तमिलनाडुको राजधानी चेन्नईको नानगानल्लुर क्षेत्रमा रहेको धर्मलिङ्गेश्वर मन्दिर नजिकै उक्त घटना भएको हो ।
पङ्गुनी उथिराम (तमिल पर्व) उत्सवको एक भागको रूपमा भक्तजनहरू स्नानका लागि ट्याङ्कीमा भेला भएका थिए ।
चेन्नईका प्रहरी आयुक्त शंकर जिवाललाई उद्धृत गर्दै स्थानीय टेलिभिजन च्यानल एनडिटिभीले भनेको छ- ‘के गलत भयो वा धार्मिक स्थानमा नियमको पालना भयो कि भएन भनेर हामी अनुसन्धान गरिरहेका छौँ ।’
एक हप्ताभन्दा कम समयमा भारतको कुनै मन्दिर नजिकै भएको यो दोस्रो घातक घटना हो ।
गत साता मध्य प्रदेशको इन्दोर शहरमा एक मन्दिरभित्रको कुवाको छाना भत्किँदा ३६ जनाको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी मनाउन भक्तजनको भीड लागेको समय उक्त दुःखद घटना भएको थियो ।