एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा विगत केही दिनमा सरकारी वितरण केन्द्रबाट निःशुल्क पिठो लिन खोज्दा कम्तिमा चार वृद्धको मृत्यु भएको छ भने धेरै बेहोस भएका छन्।
समाचार एजेन्सी पीटीआईले पञ्जाब सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
ती अधिकारीका अनुसार मुल्तान, मुजफ्फरगढ र फैसलाबाद सहरमा यस्ता घटना भएको हो।
सित्तैमा पिठो लिन मानिसको बाक्लो भीडभाड हुने र वितरणका लागि स्थापना गरिएका सरकारी वितरण केन्द्रमा सुविधा नहुँदा यस्तो भएको अधिकारीले बताए ।
‘मृतकमध्ये दुईजनाको भागदौडका कारण र दुई जनाको घन्टौं लाइनमा बसेर मृत्यु भएको हो,’ उनले भने ।
उता त्यहाँ जम्मा भएका मानिसहरूलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज गरेको थियो ।
समाचार अनुसार पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्याधिक मुद्रास्फीतिबाट गरिबलाई राहत दिन गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको छ ।