काठमाडौं। कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले कोशी प्रदेशमाथि जित निकालेसँगै लगातार तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।
यससँगै एपिएफ एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो। कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो। एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाइन्।
कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन्। यस्तै ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजित ११ रनको पारी खेलिन्। कोशी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुबिना क्षेत्री, निशा साहले समान १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो। कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्री २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन्। यस्तै स्मृति कटुवाल ८ रनमा रनआउट भइन्। एपीएफका लागि कप्तान सिता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिइन्।
जितसँगै एपिएफले ३ खेलमा ३ जित सहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ। यता कोशी प्रदेश दुई खेलमा एक जित निकालेर २ अंकका साथ अंकतालिकाको पुछारमा छ। कोशीको समूह चरणमा दुई खेल बाँकी रहेको छ।
प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न दिनको पहिलो खेलमा सूदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पनि ७ विकेटले पराजित गरेको छ। यससँगै मधेस प्रदेशले जारी प्रतियोगितामा लागातार दोस्रो हार भोगेको छ।
यस्तै सुदूरपश्चिमले भने तेस्रो खेलमा दोस्रो जित निकालेको छ। तेस्रो खेलबाट दोस्रो जित निकाल्ने क्रममा सुदूरले मधेसबाट पाएको ६५ रनको लक्ष्य सुदूरले १० ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। सुदूरका लागि रितु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रनको पारी खेले।
यसअघि कप्तान विन्दुर रावलले १० रन जोड्दै पवेलियन फर्किंदा सम्झना खड्का ९ तथा कविता कुँवर १ रनमा आउट भएका थिए। मधेसका लागि सरस्वती चौधरी, सन्तोषी चौथरी र अनुराधा चौधरीले समान १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनाउन सक्यो। मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। मधेसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट निकाले।
जितसँगै सुदूरले ३ खेलमा ४ अंक जोडेको छ। सुदूर दोस्रो स्थानमा उक्लिएको छ। मधेस भने तालिकाको पुछारमा अंक विहीन छ। प्रतियोगितामा अब खेल सोमबार हुनेछन्। सोमबार पहिलो खेल ललितपुर मेयर्स–११ र मधेस प्रदेश तथा दोस्रो खेल कोशी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।