खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मिर्गौला परीक्षण शिविरमा ९६ जनालाई मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पाइएको छ । विश्व मिर्गौला दिवसको अवसर पारेर फागुन २४ र २५ गते दिक्तेलमा आयोजना गरिएको निःशुल्क मिर्गौला परीक्षण शिविरमा एक हजार १८० जनाको स्क्रिनिङ गर्दा ९६ जनामा मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पत्ता लागेको हो ।
६६१ महिला र ५१९ पुरुष सेवाग्राहीमध्ये मिर्गौलाको थप परिक्षण गर्न समन्वय गरेर गरेर जिल्ला अस्पताल पठाइएको नगरका स्वास्थ्य संयोजक खेमराज आचार्यले बताए । शिबिरमा डिपिस्टिक विधिबाट मिर्गौलाको अवस्थाको अवस्थाको बारेमा परिक्षण गरिएको थियो ।
जाँचका क्रममा ४२ जनाको पिसावमा चिनीको मात्रा देखा परेको र २०२ जनाको उच्च रक्तचाप रहेको पाइएको थियो । शिबिरमा ६० वर्षमाथिका १४४ जनाले सेवा लिएका छन् । मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेका बिरामी, उच्च रक्तचाप र मधुमेहको समस्या देखा पर्न लागेका बिरामीलाई विशेषज्ञ डाक्टरले आवश्यक परामर्श प्रदान गर्नुका साथै थप जाँच र परीक्षणको लागि अस्पताल जान सल्लाह दिएका छन् । नगरबासीको मिर्गौलाको अवस्था बारे जानकारी लिने र मिर्गौला रोगबाट सुरक्षित राख्ने लक्ष्यका साथ नगरपालिकाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा निःशुल्क मिर्गौला परीक्षण शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
सरस्वती माबिको प्रांगणमा आयोजना गरिएको शिबिरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मिर्गौलाको स्क्रिनिङ, पिसाव र सुगर जाँच गरेर मिर्गौलाको अवस्थाको बारेमा परीक्षण गरेका थिए । मिर्गौला बिग्रिएर उपचार गराउनुपर्ने अवस्था आए लाखौं खर्च गरी उपचार गराउनुपर्ने वाध्यात्मक अवस्थासम्म पुग्न नदिन शिबिरको आयोजना गरिएको मेयर तीर्थराज भट्टराईले बताए ।
डा. काफ्लेले मिर्गौलाको चेकजाँचसँगै जिल्लाका ७९ वडाका स्वास्थ्यचौकी प्रमुखलाई मिर्गौला रोगबाट जोगिने र रोग लागिहालेमा परिक्षण गर्ने विधिका विषयमा प्रशिक्षण दिएका छन् । प्रशिक्षणपछि जिल्लाका स्वास्थ्यकर्मी आ–आफ्नो वडामा मिर्गौला जाँच गर्न सक्षम बनेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए । १५ वडा रहेको नगरपालिकाले नगरभित्रका १० हजार ७११ घरधुरीका घर–घरमा पुगेर ४३ हजार २९५ नागरिकको मिर्गौलाको परिक्षण गर्ने लक्ष्य राखेको छ ।