खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका २८ महिलालाई उपचारका लागि अस्पताल लगेको छ । घर–घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परिक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ महिलामध्ये २८ जनालाई निःशुल्क उपचारमा लगेको हो ।
पाठे घर खसेका महिलालाई उपचारका लागि सोमबार दुई वटा बस रिजर्भ गरेर शिर मेमोरियल अस्पताल बनेपा, भक्तपुर पुर्याइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।
अस्पताल पुर्याइएका १० जनालाई भर्ना गरेर उपचार प्रक्रिया सुरु गरिएको छ । नगरपालिकाले बिरामी र उसका कुरुवालाई अस्पताल जाने आउने, खाने र बस्ने व्यवस्था मिलाएको छ । नगरपालिकाको समन्वयमा सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरले अप्रेसनमा लाग्ने शुल्क र खाना खर्च उपलव्ध गराउने भएको छ । पाठे घरमा समस्या भएकामध्ये चार जनाले भने अस्पताल जान अस्वीकार गरेको नगरपालिकाले जनाएको छ ।
बिरामी, कुरुवा र नगरपालिकाका प्रतिनिधिसहित ६१ जनाको टोली सोमबार राती २ बजे अस्पताल हिँडेका थिए । बिरामी र कुरुवा बोकेको एउटा बस अर्खौले र अर्को बस दुर्छिमबाट छुटेको थियो । मेयर विमला राई, उपमेयर रमेश राउत, सामाजिक विकास शाखा संयोजक एवं बाहुनीडाँडाका रुद्रकुमार राई र स्वास्थ्य शाखा संयोजक घिमिरेको टोली पाठेघरको समस्या भएका महिला र कुरुवालाई लिएर अस्पताल पुगेका हुन् । स्वास्थ्य परिक्षण गरेर अप्रेसन गर्न मिल्ने वा नमिल्ने पहिचान गरेर उपचार प्रकृया अघि बढ्ने स्वास्थ्य शाखा संयोजक घिमिरेले बताए ।
पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो । पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले स्वास्थ्यकर्मीलाई घर–घरसम्मै पठाएको थियो । घर–घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको थियो ।
नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो । डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना महिलाको पाठेघरको शल्यक्रीया गर्नुपर्ने अवस्था पहिचान गरिएको नगरपालिकाले जनाएको छ ।
अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको मेयर राईले बताइन् । गत शिविरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी थिइन् ।