लमजुङ । विद्यालयस्तरमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन लमजुङका ९ बटा विद्यालयलाई ई-लर्निङ बक्स वितरण गरिएको छ ।
रोटरी साक्षरता परियोजना २०२३ अन्र्तगत लमजुङका नौ वटा विद्यालयलाई ई-लर्निङ बक्स (लुमा डिभाइस) वितरण गरिएको हो ।
अमेरिकन रोटरी क्लव हुड साइड पोथला भ्याली र द रोज फाउन्डेशनको आर्थिक सहयोगमा जिल्लाका नौ सरकारी विद्यालयलाई लुमा डिभाइस वितरण गरिएको हो । बेसिशहर नगरपालिकाका नगर प्रमुख गुमान सिहं अर्यालले सम्बन्धित् विद्यालयका शिक्षकहरुलाई हस्तान्तरण गरे ।
रोटरी क्लब अफ पोखराको समन्वय तथा लुमा र शैक्षिक स्रोत तथा विकास केन्द्रको संयुक्त आयोजनामा शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण सहित ई-लर्निङ बक्स वितरण गरिएको हो ।
ई-लर्निङ बक्स (लुमा डिभाइस) को प्रयोग तथा यसबाट कसरी अध्ययन र अध्यापन गराउने भन्ने विषयमा शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण दिएर मात्र सामग्री उपलब्ध गराइएको शैक्षिक स्रोत तथा विकास केन्द्रका महासचिव विश्वेश्र कट्टेलले बताए ।
रोटरीको साक्षरता परियोजना अन्र्तगत यसअघि कास्कीका ११ ओटा, गोरखाका ११ ओटा विद्यालय, तनहुँ, बाग्लुङ र पर्वतको एक/एक वटा विद्यालयको लागि एक/ एक वटा ई–लर्निङ बक्स वितरण गरिएको रोटरी क्लवका पुर्व डिष्ट्रिक गर्भनर किरण श्रेष्ठले बताए ।
कार्यक्रममा लुमा सस्थाका समन्वय प्रमुख नन्दलाल भण्डारीले गण्डकी प्रदेशमा ३५ वटा विद्यालयमा उक्त कार्यक्रम संचालन भएको भन्दै नेपाल अधिराज्यमा विकट ठाउँमा बसोवास गर्दै आएका र पाठ्यपुस्तकको पहुँच नपुगेका बालबालिकालको स्तर एउटै गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको बताए ।
शिक्षालाई प्रविधिमैत्री बनाउने एउटा उपकरण लुमा डिभाइस हो ।