काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उनले खुला सिमानाका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भन्दै बुस्टर डोजलाई छिटोभन्दा छिटो लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
“बुस्टर डोज लगाउन ढिला भइसक्यो । किन ढिला भयो,” उनले भने, “आवश्यक कार्ययोजना बनाएर तत्काल बुस्टर डोज लगाउनका लागि प्रबन्ध गर्नुहोस् ।”
मन्त्री गिरीले खरिद प्रक्रिया धेरै संवेदनशील विषय भएकाले शतप्रतिशत पारदर्शिता हुने गरी काम गर्न निर्देशन दिए । भोलिका दिनमा कतै खरिद प्रक्रियाका सन्दर्भमा प्रश्न उठे स्वयम् जवाफदेही हुनुपर्ने उनको भनाइ थियो ।