एजेन्सी। बलिउड स्टार शाहरुख खानको फिल्म ‘पठान’ धमाधम सुरु भएको छ । फिल्मलाई लिएर फ्यान र समीक्षकहरु निकै उत्साहित देखिएका छन् ।
बलिउडमा ‘किंग खान’ भनिने शाहरुख खान चार वर्षपछि सुनौलो पर्दामा फर्किएका छन् । सिनेमा हलमा पुग्नुअघि नै यो चलचित्र निकै चर्चामा छ ।
बुधबार रिलिज भएको चलचित्र ‘पठान’ यो वर्षकै सबैभन्दा धेरै हिट हुने चलचित्र समीक्षकहरुले बताएका छन् ।
केहीले फिल्मको कथानकको आलोचना गर्दै यसलाई अनावश्यक र हास्यास्पद भनेका छन् तर बाँकी भने शाहरुख खान पर्दामा आफ्नो जादु फैलाउन सफल भएको बताएका छन् ।
पठानमा दीपिका पादुकोण र जोन अब्राहम जस्ता स्टारहरू पनि मुख्य भूमिकामा छन्।
यो फिल्म पठान पात्रको कथामा आधारित छ, जसमा शाहरुख खानको भूमिका छ । फिल्ममा, पठान एक खुफिया मिशनमा छन् जसको काम एक चरमपन्थी समूहलाई भारतमा आक्रमण गर्नबाट रोक्नु हो।
युट्युबमा फिल्मको ट्रेलर पाँच करोडभन्दा बढीले हेरिसकेका छन् ।
फिल्म समीक्षक तरण आदर्शका अनुसार यो फिल्म विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको हो, जुन बलिउड फिल्मका लागि सबैभन्दा ठूलो ओपनिङ हो ।
प्रख्यात फिल्म ट्रेड समालोचक कोमल नाहटाले भारतमा पठानको पहिलो दिन ५७ करोडको व्यापार भएको बताए ।
उनले ट्वीट गरेका छन्, यो कुनै पनि हिन्दी फिल्मको सबैभन्दा ठूलो ओपनिङ हो। त्यो पनि त्यतिबेला जब छुट्टी थिएन र फिल्मको सिक्वेल थिएन।
बुधबार शाहरुख खानले ट्वीट गर्दै उत्तर भारतमा कोभिड–१९ को समयमा बन्द गरिएका २५ सिंगल स्क्रिन सिनेमा हल ‘पठान’ देखाउन पुनः खोलिएको बताए ।
पहिलो दिनमै सय करोड
फिल्मको प्रोडक्सन हाउस यशराज फिल्म्सका अनुसार हिन्दी संस्करणको रिलिजले पहिलो दिन ५५ करोड र भारतका अन्य भाषामा २ करोड रुपैयाँ कमाएको छ । जबकि ओभरसिज स्क्रिनिङले ४.५ मिलियन डलर (लगभग ३६.६ करोड रुपैयाँ) कमायो।
पठानको वल्र्ड वाइड ओपनिङ डे रेकर्डले सबै हिन्दी फिल्मलाई पछि पार्दै पहिलो दिन १०६ करोड रुपैयाँ कमाएको थियो।