खोटाङ । बौद्धिक समूह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका चार विद्यालयमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्बन्धी अनुगमन गरेको छ । बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्बन्धी दक्षता विकासमा सघाउ पुर्याउनका लागि गत कात्तिकमा तीन दिने कार्यशाला गोष्ठी गरेको बौद्धिक समूह नेपालले त्यसको कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको हो ।
बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले कलंका प्रावि बाङमा, देउराली आधारभूत विद्यालय, हुन्डाखा, नमुना प्रावि विद्यालय सार्पा र चोमोलुङमा प्रावि छोर्दिपामा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्बन्धी अवस्थाका बारेमा अनुगमन गरेका हुन् ।
बौद्धिक समुहले च्यास्मीटारभित्रका वालविकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका ३१ प्रअ तथा शिक्षक–शिक्षिकालाई तालिम दिएको थियो । बाँकी रहेका ६ वटा विद्यालयलाई अर्को चरणमा अनुगमन गर्ने तयारी गरिएको छ । कतिपय विद्यालयका प्रअ तथा व्यवस्थापन समितिसँग भेटेर वा फोनमार्फत फोनिक्स शिक्षणका बारेमा संवाद गरिएको बौद्धिक समूहले जनाएको छ ।
अनुगमनका क्रममा विद्यालयले अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्बन्धी शिक्षण अभ्यास गरेको भए पनि नियमित नगरेको पाइएको छ । प्रभावकारी शिक्षणका लागि स्थानीय सरकारले चाँडोभन्दा चाँडो विद्यालयलाई ल्यापटप, प्रोजेक्टर, प्रिन्टरलगायतका सामग्री उपलब्ध गराउनु पर्ने आवश्यकता देखिएको अध्यक्ष राईले बताए । ‘फोनिक्स शिक्षणको कार्यान्वयनको अवस्थाका बारेमा हामीले अनुगमन गरिरहेका हौं । कहाँ, कसरी फोनिक्स शिक्षण भइरहेको छ, वालबालिकाले के, कति सिके भनेर बुझिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘विद्यालयमा फोनिक्स शिक्षणको प्रयास भएको छ । विद्यालयले युट्युवमा सर्च गरेर पनि फोनिक्स सिकाउने प्रयास गरेको पाइयो तर रेगुलर प्राक्टिस नभएको कारण बालबच्चाहरुले राम्रो संग सिक्न सकिरहेको पाइएन । सामग्रीको अभावले पनि रेगुलर प्राक्टिस गराउन समस्या भएको बुझिएको छ ।’
अनुगमनका क्रममा विद्यालयका प्रअ, शिक्षक, व्यवस्थापन समिति, बुद्धिजिवी, समाजसेवीलगायतसँग फोनिक्स शिक्षणलाई प्रभावकारी बनाएर बालबच्चालाई अंग्रेजी सिक्न उत्प्रेरित गर्ने/गराउनुका साथै विद्यालयमा शिक्षक–शिक्षिका तथा विद्यार्थीबीचमा पनि क्रमशः अंग्रेजी बोल्ने वातावरण निर्माण गर्ने विषयमा छलफल गरिएको छ ।
छलफलका क्रममा हप्तामा एक दिन विद्यार्थीलाई जातीय पोशाक लगाउने प्रवन्ध मिलाउने, शैक्षिक क्रियाकलापमार्फत भाषा तथा संस्कार–संस्कृतिको संरक्षण गर्ने, विद्यालयको शैक्षिक तथा समुदायको वृत्तिविकासमा अभिभावक र सिंगो समुदायलाई सामूहिक स्वार्थका लागि संस्थागत रूपमा जिम्मेवारी बनाउनेलगायतका विषयमा छलफल भएको अध्यक्ष राईले जानकारी दिए ।
काठमाडौंमा २०७५ सालमा स्थापना गरिएको बौद्धिक समूहले २०७८ सालमा च्यास्मीटार माबिबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने च्यास्मीटार माबिका छात्रा जिवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रबृत्ति प्रदान गरिसकेको छ । पब्लिक हाइस्कुल धरानमा ब्यबस्थापन संकायमा कक्षा ११ मा अध्ययनरत जीवना केही समयअघि भएको फष्ट टर्मिनल परिक्षामा ६६ प्रतिशत तथा र्यांक १ हासिल गर्न सफल भएकी छन् । यस्तै, सरस्वति मावि दिक्तेलमा अध्ययनरत दिलिप फस्ट टर्मिनल परीक्षाको नतिजाको प्रतिक्षामा छन् ।
हलेसी तुवाचुङ नगरपालिकालाई सेवा क्षेत्र बनाएको बौद्धिक समूह नेपालले विभिन्न शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दैआएको छ ।