काठमाडौं। आर्सनलले एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ । सोमबार राति अक्सफोर्डमाथि ३–० को सहज जितसहित आर्सनल चौथो चरणमा प्रवेश गरेको हो ।
सिटीले आइतबार चेल्सीमाथि ४–० को जितसहित चौथो चरणमा स्थान बनाएको थियो । आर्सनल प्रिमियर लिगको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा साबिकको विजेता सिटीलाई पाँच अंकले पछि पारेको छ ।
एफए कपअन्तर्गत सोमबार राति खेलको ६३औं मिनेटमा मोहम्मद इल्नेसको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि नै इडी एनकेइटाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । ७६औं मिनेटमा एनकेइटाले आर्सनलको अग्रता ३–० मा पुर्याएका थिए ।