काठमाडौं । जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङ भएको दाबी गरिएको छ । लिगको अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा फिक्सिङ भैरहेको आरोप लगाएका हुन् ।
उनले लिगमा विदेशी कप्तान लगायत प्रतियोगिताको आयोजना पक्षमा नै प्रश्न उठाएका छन् । ‘धेरै यस्ता क्षण मैदानमा देखेँ, घटनाहरु देखेँ । विल्कुल आश्चार्यजनक देखेँ । अहिलेसम्म नेपाली क्रिकेटमा नदेखेको घटनाहरु देखेँ ।’ उनले कमेन्ट्री गर्दाको अनुभव बताउँदै सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैदानमा देखेँ ।’
कतिपय विदेशी खेलाडीले खेल भावना विपरित प्रदर्शन गरेको उनको भनाई छ । घटनाबारे क्यान, एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई बताएपनि कुनै पहल नभएको तिमल्सिनाले बताए ।
उनले जनकपुरका कप्तान ट्रेभन ग्रिफिथ, पोखराका आमिर हम्जा लगायत खेलाडीहरुको नामसमेत लिएका छन् ।