काठमाडौं । सरकारमा सहभागी पार्टीहरूबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको संख्या २५ पुर्याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका सबै दलको चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् ।
प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका साथै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराइसकेका छन्। अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) लाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने तयारी उनले गरेका हुन् ।
पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र दुई दललाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने दाहालको तयारी छ । साथै तीन उपप्रधानमन्त्रीबाहेक अन्य मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत नतोकेका दाहालले मन्त्रिपरिषद् विस्तारका साथै मन्त्रालय भागबन्डा एकैसाथ गर्ने तयारी गरिरहेको जनाइएको छ ।
सरकारलाई समर्थन गरेका सबै दलले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेकाले प्रधानमन्त्री दाहालले केही मन्त्रालय विभाजन गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।