काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा २ वर्षको लागि अनुबन्ध भएका छन्। रियादका क्लब अल-नासरले पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता गरेको हो।
‘म नयाँ देशमा फुटबल खेलेको अनुभव गर्न र टोलीलाई नयाँ ट्रफीहरू हासिल गर्न सहयोग पुर्याउन मेरो साथीहरूसँग सामेल हुन पाउँदा उत्साहित छु,’ रोनाल्डोले क्लबको आधिकारिक ट्विटरमा अल-नासरसँग हस्ताक्षर गरेपछि भनेका छन्।’
साउदीका खेलकुद मन्त्री राजकुमार अब्दुलअजीज बिन टर्की अल-फैसलले सम्झौताको स्वागत गर्दै शनिबार बिहान ट्वीट गरेका छन्, ‘सबै समयको महान् मध्ये एक साउदी अरबमा आफ्नो नयाँ यात्रा सुरु गर्ने पुष्टि भएको छ।’ उनले रोनाल्डो र उनको परिवारलाई साउदी अरबमा सुखद अनुभवको कामना गरेका छन्।
साउदी क्लबले ट्विटरमा भनेको छ, ‘इतिहास बनिरहेको छ। यो एउटा हस्ताक्षर हो जसले हाम्रो क्लबलाई अझ ठूलो सफलता हासिल गर्न मात्र प्रेरित गर्दैन हाम्रो लिग, हाम्रो राष्ट्र र भावी पुस्तालाई आफैं उत्कृष्ट संस्करण बन्न प्रेरितसमेत गर्नेछ।’
३७ वर्षीय पोर्चुगिज स्टारसँग गत महिना म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएको थियो।