काठमाडौं । सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए ।
प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।
‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो । कि महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्थ्यो । तर, सेवा सुरु भएसँगै सर्वसाधारणको उक्त समस्या हट्ने भएको छ,’ भट्टले भने ।
गरिब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिएको उनले बताए ।
मस्तिष्कघातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ ।