काठमाडौं । बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली आज शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।
१६ खेलाडीसहित २५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरेका थिए ।
डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाकास्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियम हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले ३ तथा महिला टोलीले २ स्पर्धा सहभागिता जनाउने छन् । पुरुषले रेगु टिम, रेगु र क्वाड तथा महिलाले रेगु र क्वाड स्पर्धामा खेल्ने छन् ।
पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, संगिन थापा मगर, विपिन थनेत, विजय महतो, पदमबहादुर ठाडा मगर, सूर्यकुमार चौधरी, दिपेशजंग थापा, उमेशबहादुर महतो, राजीव कालाखेती, सन्देश राई र चन्द्र चौधरी रहेका छन् । महिलामा सुमित्रा डंगोल, कमला दर्जी, रुथकुमारी श्रेष्ठ, निरु थापा मगर र भबिसरा ढकाल छन् ।
टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा नेसिर मास्के, पुरुषको मुख्य प्रशिक्षकमा वीरेन्द्रविक्रम लिम्बू र सहायक प्रशिक्षकमा खेवाहाङ राई तथा महिलाको मुख्य प्रशिक्षकमा लोकमणि आत्रेय र सहायक प्रशिक्षकमा रामकुमारी शर्मा तिमिल्सिना रहेका छन् । निर्णायकमा मेघराज तोलङ्गी र क्षितिजकुमार धामी रहेका छन् ।
टोली शनिबार ढाका प्रस्थान गर्नेछ । पुरुष-महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी गराए ।