काभ्रे । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए । उनका अनुसार मरेका पशुको मासु खाएको थप स्थानीयवासीको खोजीकार्य भइरहेको छ भने पशुचौपायालाई पनि खोप लगाउने काम सुरु गरिएको छ । उनका अनुसार हाल दुई गाउँका ३५ पशुलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
वडा नं १ का ४० र ८ का ३० स्थानीयवासीलाई रेविजविरुद्धको खोप लगाइएको हो । प्रारम्भिक चरणमा दुई वडाका पशुलाई खोप लगाउन चार सय भाइल खोप पुगेको शाखा प्रमुख विष्टले बताए । रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपक्षी शाखाले हप्ता दिनदेखि निगरानीसँगै नियन्त्रणका हरसम्भव प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार गाउँमा चेतनामूलक र्याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ ।
यसैबीच रेबिज सङ्क्रण नियन्त्रणका लागि जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँसहितको एक टोली महाभारतको रेबिज प्रभावित क्षेत्र पुगेको छ । उनले रेबिज फैलावटका विषयमा सुक्ष्म ढङ्गले अध्ययन गरिने बताए । उनका अनुसार रेबिज प्रभावित क्षेत्रमा हप्ताअघि नै एक सय ६० डोज खोप उपलब्ध गराइएको थियो ।
उनका अनुसार रेबिजविरुद्धको खोपले रेबिज सङ्क्रमणबाट बच्न सकिन्छ । “खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ”, कार्यालय प्रमुख डा सेढाईँले भने ।
महाभारतमा अघिल्लो हप्ता मरेका दुई गाईका केही अङ्गह गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थियो । “हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन छुटेका स्थानीयवासीलाई प्रेरित गरिरहेका छौँ”, सेढाईँले भने । स्थानीयवासीका अनुसार मासु खाएका कारण दुई गाउँका करिब ८० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ ।
काभ्रेपमा तीन महिनापछि महाभारतमा रेबिज रोग फेलापरेको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएका तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाइएको थियो ।
शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट विसं २०७७ चैतयता काभ्रेका छ जनाको मृत्यु भएको छ । दुई वर्षअघिदेखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दुध, मासु खाँदा रेबिज सर्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।
नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ ।