पर्सा। पर्साको वीरगञ्जमा बिहीवारदेखि १ हप्ते योग शिविर सञ्चालन भएको छ ।
वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो ।
वीरगञ्ज महानगरपालिका–११ श्रीपुर स्कूलमा आयोजित शिविरको एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरे । सो अवसरमा प्रमुख सिंहले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गरेको बताए ।
उनले अहिले विश्वभर नै योगको महत्त्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए । आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी आफूले काम गरिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले शरीर स्वस्थ बनाउन योगको महत्त्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘गरौं योग, रहौं निरोग’ भन्ने नारासहित शुरू भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ ।
मंसिर २८ गतेसम्म हरेक दिन बिहान साढे ६ बजेदेखि सञ्चालन हुने शिविरमा सहभागीलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिने स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।