काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत आइतबारको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे ।
पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १-० गोलको अग्रता दिलाएका थिए ।
उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे ।
पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाए । उनले ओसुमाने डेम्बेलेको पासमा गोल गरेका हुन् ।
२३ वर्षीय एमबाप्पेको यो आठौं विश्वकप गोल हो । खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३-१ ले विजयी भयो ।
अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ ।