काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ घर भई हाल काठमाडौं बस्दै आएका ५३ वर्षीय नारायण सिंह बराललाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको गत भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेका बराललाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले बराललाई बिहीबार डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ ।
बरालले २०७७ चैत ५ गते हिमालयन बैंक लिमिटेड डिल्लीबजार शाखामा रहेको आफ्नो खातामा रकम नभएको थाह हुँदा पनि जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ ।