काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्रबहादुर धानुक र अरूणकुमार बिसीलाई बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गरेका छन् ।
सो क्रममा प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागरिक र संगठनको श्रीवृद्धिमा गरेको योगदानको प्रशंसा गरे । उनले अवकाशपछिको व्यावसायिक एवं पारिवारिक जीवन सुखमय होस् भनी शुभकामना दिए ।
उनले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा संगठनको व्यावसायिकताका लागि आवश्यक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय धानुक र बिसीलाई मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षकद्वयले आफ्नो सेवा अवधिमा गरेका अनुभवबारे जानकारी गराएका थिए ।
सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै उनीहरूले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
उनीहरू २०४९ चैत्र ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेरहदका कारण अवकाश भएका हुन् ।