काठमाडौं । जेठी पत्नीको निधनपछि अग्रज हास्यव्यंग्य कलाकार हरिवंश आचार्यलाई दोस्रो विवाह गर्न पटक्कै मन थिएन । तर, छोराहरूले नै दोस्रो विवाहका लागि प्रेरणा दिए । मन भारी बनाएर उनले त्यतिबेला दोस्रो विवाह गरेका रहेछन् ।
सुरुमा त्यो निर्णय उनलाई गलत लाग्यो । तर, अहिले त्योबेला आफूले लिएको निर्णय ‘सही’ रहेछ भन्ने उनलाई महसुस भएको छ । ‘एक्लाभन्दा विवाहित लामो समयसम्म बाँच्छन् भन्ने अध्ययनले देखाएको छ, मैले पनि अहिले आएर दोस्रो विवाह गरेर ठीक गरेछु भन्ने महसुस गरेको छु,’ मंगलबार हरिवंशले भने, ‘मैले दोस्रो विवाह गर्दा रमिला र मेरो एकल जीवनको अन्त्य हुनुका साथै एकअर्कालाई दम्पत्तिका रूपमा पायौं ।
फेरि श्रीमती पाउँदा मलाई एकल महसुस हुन छाड्यो र मेरा छोराहरूले पनि आमाको माया फेरि पाए ।’ अभिनेता हरिवंशको भनाइमा प्रदर्शनी तयारीमा रहेको ‘महापुरुष’मा पनि पत्नी गुमाएका ज्येष्ठ नागरिकले ६० वर्ष पुग्दै गर्दा दोस्रो विवाह गरेको कथा छ । यो कथा आफ्नो जीवनमा ‘केही मेल खाने’ उनले सुनाए ।
‘फिल्ममा करबलले विवाह गरे पनि वास्तविक जीवनमा आफन्तको चाहनाले विवाह गरेको हुँ । वास्तविक जीवनदेखि फिल्मी कथामा समेत ज्येष्ठ अवस्थामा दोस्रो विवाह गरेको मेल खान्छ,’ उनी भन्छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।