तिज हिन्दू नारीहरुले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूले स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्घाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।
यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरीरचेलीलाई घरमा गई लिएर आउने वा वोलाएर मिठामिठा परिकार खुवाउने तथा मनका भावना एवं सुख दुःख साटासाट गरी एउट ठाउँमा खाने-बस्ने चलन छ। यस दिन विशेष महत्त्वका साथ दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउदै गएको छ । सामान्यतया दर मध्यराती खाने चलन चलिआएको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नु पर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।
मनाउने तरिका
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाईन्छ खासगरी यसमा स्त्रीहरुले पतिको निम्ती निराहार बसेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाईधुहाई गरेर दिनभरी जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन । बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ। निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन्। कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्न गर्दछन्।
धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिंगको स्थापना गरी पानी पनि नपिईकन निराहार ब्रत बस्न थालिन । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई 'चिताएको पुगोस्' भनी आशीर्वाद दिए पछि शिव पार्वतीको बिवाह हुन पुग्यो ।
त्यो दिन भाद्र शुक्ल तृतियाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवको रुपमा मनाउन थाले र यो तिजकोरुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । आधुनिक समाजमा तीजको महत्त्व जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू बिवाह पश्चात् श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, र समाज चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माईतीको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तिज पर्वको हगन महत्व रहेको छ ।
तिजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी बर्त बस्छन्। बर्तको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र पुजालगाई समापनमा ब्रामणलाई दानदक्षिणा गर्ने चलन रहेको छ । तीजको बर्त अन्य ब्रतभन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई बर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिएको हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो ।
विशेषता
-
हिन्दु संस्कृतिलाई बचाउनु ।
-
महिलाहरुमा स्वतन्त्रताको अनुभुति दिलाउनु ।
-
तिजको ब्रत बस्दा नयाँ विचार आउनु ।
-
कार्य क्षमतामा बृद्धि हुनु ।
-
आर्थिक उन्नतीमा विकास हुनु ।
-
विदेशी पर्याटकहरुलाई हाम्रो संस्कृति र संस्कार देखाई पर्याटक भित्र्याउन सकिने ।
-
घरपरिवारमा शान्ति मिल्नु्का साथै मेलमिलापमा मद्दत गर्ने ।
-
स्वास्थ्यमा लाभ हुनुका साथै गरगहना खरिदले लक्ष्मी भित्रिने ।
हरितालिका तिजको ब्रत बस्नाले आफूले चिताएको मनोकामना पूरा हन्छ भन्ने विश्वास छ । तर आजभोलि हाम्रो समाजमा तिजको नाममा निकै विकृति फैलिरहेको छ । होटल, रेष्टुरा र पार्टीप्यालेसहरुमा दरखाने कार्यक्रम राखिनु र जाँडरक्सीसमेत सेवन गर्नु सामान्य भैसकेको छ । यसले हाम्रो समाज कतातिर जादैछ भन्ने प्रष्ट संकेत दिईरहेको छ । यी विकृति र विसंगतीलाई समयमै रोक्नुपर्ने आजको आवश्यकता भईसकेको छ ।