हलिउड फिल्म ‘पायरेट्स अफ द क्यारेबियन’ स्टार जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डबीच चलिरहेको हाई प्रोफाइल मुद्दाबारे जोकोही जानकार छन् । यी दुवै स्टार अहिले पनि मानहानी मुद्दामा अदालत आउजाउ गरिरहेका छन् । कहिले एम्बर त कहिले जोनी अदालतमा आफ्नो मुद्दामा सुनाइएको फैसलालाई चुनौती दिँदै आइरहेका छन् ।
मानहानी मुद्दाको फैसला भएको एक महिना बितिसकेको छ । दुवै पक्षको मुद्दामा अदालतले जरिवाना तिर्न भनिसकेको छ । यो मुद्दाको फैसला जोनीको पक्षमा सुनाइएको थियो । अहिले अभिनेत्री एम्बरका लागि अर्को दुःखको खबर बाहिर आएको छ । सामाजिक सञ्जालमा उनको बहुप्रतिक्षित फिल्म ‘एक्वामेन २’लाई बहिस्कार गर्न माग उठिरहेको छ ।
अदालतमा मुद्दा चलिरहँदा सामाजिक सञ्जालमा फिल्मले एम्बरलाई निकालेको चर्चा चलेको थियो । तर, केही दिनअघि मात्र एम्बरले यो चर्चामा बिराम लगाएकी छन् । ‘यस्तो हल्ला पहिलादेखि नै आइरहेको छ । जुन गलत, संवेदनशील र अनौठो छ । एम्बरको एक दृश्य फिल्मबाट अवश्य नै हटाइएको छ, तर यसको अर्थ यो होइन कि उनलाई फिल्मबाट निकालियो’, एम्बरका प्रवक्ताले भनेका छन् । प्रवक्ताको भनाइले पनि एम्बर अझै पनि फिल्मको हिस्सा भएको प्रष्ट भएको छ । त्यहीकारण फिल्मलाई बहिस्कारको माग चलेको हो ।
जोनीलाई घरेलु शोषणको आरोप लागेपछि उनलाई कैयौं चर्चित फिल्मबाट निकालिएको थियो । त्यहीकारण उनी अहिले कुनै प्रोजेक्टको हिस्सामा छैनन् । जोनी कुनै पनि फिल्ममा नजोडिनु र एम्बर ‘एक्वामेन २’मा जोडिनुले जोनीका फ्यान रिसाएका छन् । जसकारण उनीहरुले फिल्म बहिस्कारको आवाज उठाइरहेका छन् ।
फ्यानहरूले डीसी सुपर हीरो यूनिभर्सको फिल्म ‘एक्वामेन २’को तीव्र प्रतिक्षा गरिरहेका छन् । तर, एम्बरका कारण फिल्मले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीको सामना गरिरहेको छ ।
फिल्मको पहिलो संस्करण सन् २०१८ मा रिलिज भएको थियो । फिल्ममा जेसन मोमोआ, एम्बर हर्ड, निकोल किडमेनजस्ता कलाकारको अभिनय थियो । यही फिल्मबाट एम्बरले लोकप्रियता कमाएकी थिइन् । फिल्म आगामी २०२३ मार्च १७ मा रिलिज हुँदैछ ।