काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।
सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेपछि परेको रिटकाे सुनुवाइ सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार मुद्दाको चौंथो पेसी हो।
रिटमा जेठ ३० गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । सरकारले ज्येष्ठता तथा वरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरी दुवै पक्षलाई छलफलमा बोलाएको थियो। जेठ १७ गते पेसी भएपनि उक्त दिन म्याद तामेली हुन नसकेपछि जेठ ३० गते पूर्ण इजलासमा पेसी परेको थियो।