काठमाडौं । अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुने भन्दै नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ ।
बिहीबार सार्वजनिक भएको पत्रमा २०७२ कात्तिक १० गते तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको खुलेको हाे ।
पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई सम्बोधन गरी लेखेका छन् । पत्र सेनाले परराष्ट्र मन्त्रालय मार्फत नपठाई सिधै राजदूतलाई सम्बोधन गरी पठाएको छ भने वोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई दिएको छ ।
त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । यसैबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा एसपीपी सम्झौता नभएको भन्ने भनाई गलत सावित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको यसै महिना हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौता गर्न लागेको सूचना बाहिरिएपछि यसको चौतर्फी विरोध भएको थियो ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाएका थिए भने पुष्टि गर्न चेतावनीसमेत दिएका थिए ।
यस्तै, बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । तर, सेनाले विज्ञप्ति जारी गरेको चौबिस घण्टा नबित्दै २०७२ कात्तिक १० गते सेनाले अमेरिकी राजदूतलाई पठाएको पत्र बिहीबार सार्वजनिक भएको हो । पत्रमा भविष्यमा एसपीपीमा सहभागी गराउन अनुरोध गरिएको छ ।