पर्सा। सरकारले सामुदायिक विद्यालयमा प्रारम्भिक बाल कक्षादेखि कक्षा पाँचसम्म अध्ययन गर्ने हरेक बालबालिकाका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ । बालबालिकामा हुने तत्कालिन भोकमा कमि ल्याउनको लागि, बालबालिकाको बृद्धि र विकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्नादर अभिबृद्धि हुने, विद्यालय छाड्ने दर घट्ने, र सिकाइ उपलब्धि बढ्ने विश्वासका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो ।
सरकारले गाउँपालिका र नगरपालिकामार्फत् विद्यालयलाई खाजाबापत रकम उपलब्ध गराउने छ । प्रत्येक विद्यार्थीलाई १ सय ८० दिनका निम्ति खाजाको व्यवस्था गरिएको छ । विद्यार्थीले कक्षामा उपस्थित भएको दिनमात्र खाजा खान पाउने छन् । खाजा बापतको रकम लिन पाउने छैनन् ।
विद्यालयले बालबालिकालाई साताभरि हरेक दिन फरक-फरक किसिमको खाजा खुवाउनु पर्नेछ ।सरकारले बिद्यालय उमेर समुहका एक बालकबालिकाको लागि दैनिक रुपमा चाहिने शक्ति (क्यालोरि) लगायत बृहत पोषक तत्व (प्रोटिन र चिल्लो पदार्थ) तथा सुक्ष्म पोषक तत्व (आयोडिन, आइरन, जीङ्क, भिटामिन ए) को मात्राको ३०% दिवा खाजाबाट परिपुर्ति हुनुपर्ने गरी मापदण्ड तयार गरेको छ ।
उच्च हिमाल, पहाड, तराई, पूर्व, मध्य, पश्चिम गरी क्षेत्रगत आधारमा ६० प्रकारका खाजाको तालिका (मेनु) बनाइएको छ । तालिकाअनुसार स्थानीय क्षेत्रमा उत्पादन भएका अन्नबाट विभिन्न परिकार बनाएर खुवाउनु पर्नेछ । जसमा पोषिलो जाउलो, मकैको खिर, चिनोको खिर, तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी, आलु पनिर, चिउरा, बदाम, मासु, क्वाँटी, पानी रोटी, फापरको रोटी, ढिंडो रहेका छन् । त्यसैगरी खिचडी, छोला चिउरा, दही, गहुँको हलुवा, भुटेको मकै, भटमास, पुरी, भुटेको भात, पुवा, हरियो मकै, आलुदम जस्ता परिकार उल्लेख छ । यी परिकारबाट दैनिक एकजनाले पाउनु पर्ने पौष्टिक आहारको ३० प्रतिशत दिवा खाजाबाट प्राप्त गर्ने अध्ययनले देखाएको छ । अन्न, गेडागुडी, हरियो सागसब्जी तथा पशुजन्य, माछा, मासुबाट तयार गरिने खाजाप्रति बालबाबालिका १ सय ५० देखि दुई सय ग्रामसम्मको हुनेछ ।
तर, पर्साको बिन्दवासिनी गाउँपालिका ५ मंगलपुर बटसौरास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा दिवा खाजामा भुजा मात्रै खुवाएको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ । सरकारले नै दिवा खाजाका लागि बजेट छुट्याएपनि भुजामात्र दिएको थाहा पाएपछि बालबालिकाका अभिभावक पनि असन्तुष्ट छन् । यसै विषयमा सो विद्यालयका प्रधानाध्यापक ललन पान्डेयले भने दिवा खाजामा हालसम्म कुनै समस्या नदेखिएको तर सो दिन विद्यालयमा सबै खाजा सकिएको र लिन जान समय लाग्ने भएकाले खाजाको समयमा बालबालिकाकालाई भुजामात्रै भएपनि खुवाउने की भनेर खुवाएको प्रतिक्रया दिए ।
उनले जनतापाटीसँग भने, ‘सो दिन खाजा सकिएर अभाव भएको थियो । लिन जान समय लाग्ने भएर बालबालिकाकालाई खाजाकाे समयमा भुजामात्रै भएपनि खुवाउने की भनेर खुवाइएको हो । समस्या समाधान भैसक्यो, आज बालबालिकालाई दिवा खाजामा अण्डा दिइएको छ ।’ उनका अनुसार बालबालिकालाई आइतबार हलुवा-खिर, सोमबार कुखुराको मासु र भुजा, मंगलबार दुध, मैदा र चिनीबाट बनको स्यावारी, बुधबार अण्डा, बिहीबार चना तथा शुक्रबार समयानुसारको फलफुल दिइने गरिएको छ ।
सो गाउँपालिकाका शिक्षा प्रमुख कपिल लामिछाने भने आफूहरु निरन्तर अनुगमनमा रहेको बताउँछन् । दिवा खाजाका नाममा भुजा बाँडिरहेको उक्त विद्यालयमा पनि केहीदिन अघि अनुमगनमा जाँदा कुनै समस्या नदेखिएको तर, हिजो मात्र भिडियो सार्वजनिक भएपछि थाहा भएको उनको भनाई छ । भिडियोको चौतर्फी आलोचनापछि प्रमुख लामिछानेले त्यस विद्यालयका प्रधानाध्यापक पान्डेयसँग पनि बुझेका थिए ।
प्रमुख लामिछानेले अब प्रधानाध्यापक पान्डेयसँग लिखित स्पष्टिकरण सोध्ने बताएका छन् । साथै उनले आजै गाउँपालिकाका सम्पूर्ण विद्यालयमा खाजाको तालिकासहितको मापदण्ड तोकेर पुनः पठाउने तयारी भएको पनि बताए । उनका अनुसार सरकारले दिवा खाजा खुवाउन दैनिक पन्ध्र रुपैयाँ छुट्याएको तर सो पैसा नै अपुग हुने विद्यालयहरुले बताउँदै आएका छन् । दिनहुँ खाजा खुवाउँदा पढाइको समयमा बाधा पुग्ने, विद्यालयमा एक जनामात्र सहयोगी कर्मचारी हुने भएकाले सरसफाई, कक्षा व्यवस्थापन र खाजा पकाउन भ्याउन गाह्रो हुने गुनासो आइरहेका हुन्छन् ।
सरकारले समाज कल्याण परिषद्मार्फत् २०२४ सालमा पहिलो पटक ३७ जिल्लामा दिवा खाजा सुरु गरेको थियो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा ०५३ सालमा शिक्षाका लागि खाद्य कार्यक्रम १६ जिल्लामा लागू गरिएको थियो । सरकारले २०६५ सालदेखि निश्चित जिल्लामा खाजावापत नगद कार्यक्रम सुचारु राखेको थियो । संविधानले निःशुल्क र अनिवार्य आधारभूत शिक्षा प्रत्याभूत गरेको छ । बालबालिकाको वृद्धि, विकास र सिकाइमा पौष्टिक खाना र खाजा महत्वपूर्ण भएकाले दिवा खाजा कार्यक्रम गतवर्षबाट लागू गरिएको हो ।